Satya Update

Author: Satya Update

  • सुदूरपश्चिम प्रदेशमा तीन महिनामा विपद्का घटनाबाट १४ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा तीन महिनामा विपद्का घटनाबाट १४ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा तीन महिनामा विपद्का घटनाबाट १४ जनाको मृत्यु भएको छ। श्रावण १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा प्रदेशको विभिन्न स्थानमा घटेका विपद्का घटनामा परी १४ जनाको मृत्यु भएको छ भने २६२ जना घाइते भएका छन्।

    सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार संकलन गरेको विवरणमा चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा प्रदेश भरी विपद्का ५६३ वटा घटना भएका छन्। जसबाट ८८ लाख ८ हजार मूल्यको धनमाल नष्ट भएको छ।

    विपद्का घटनामा सर्पदंशका सबैभन्दा बढी २११ वटा घटना भएका छन्। यसबाट २ पुरुष, ६ महिला गरी ८ जनाको मृत्यु भएको छ भने २०६ जना घाइते भएका छन्। सर्पदंशबाट २१३ परिवार प्रभावित भएका छन्।

    चट्याङ्गका १२ वटा घटनामा १ पुरुष र २ महिला गरी ३ जनाको ज्यान गएको छ। चट्याङ्गबाट १५ जना घाइते भएका छन्। यस्तै पहिरोका ११५ घटनामा १ जना महिलाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। पहिरोले २०० परिवार प्रभावित भएका छन् भने ८ घर पूर्ण र ८ घर आंशिक रूपमा क्षति भएका छन्। बाढीका १८ घटनामा १ जनाको मृत्यु भएको छ भने अनुमानित ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। प्रदेशमा जनावरको आक्रमणका ४३ वटा घटनामा १ जनाको मृत्यु छ। यसबाट १९ जना घाइते भएका छन्।

    तीन महिनाको अवधिमा ५२ वटा आगलागीका घट्ना भएका छन्। आगलागीबाट ६ जना घाइते भएका छन् भने ६ लाख ११ हजार १ सय रुपैयाँको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ।

    यसै अवधिमा ९१ वटा भारी वर्षा भएका छन्। भारी वर्षाबाट ११४ परिवार प्रभावित भएका छन्। भारी वर्षाकारण ११ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ। हावाहुरीका १७ वटा घटनामा १९ परिवार प्रभावित भएका छन्। प्रदेश भरी विपद्का घटनाबाट ७१३ परिवार प्रभावित भएको विवरणमा उल्लेख छ। तीन महिनाको अवधिमा ३ वटा लेक लाग्नुको घटना भएको केन्द्रले जनाएको छ।

  • वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने

    वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने

    वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् ।

    एनपीएलको टोली विराटनगर किङ्ग्सले तेस्रो संस्करणका लागि रसेललाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

    ३८ वर्षीय रसेलले वेस्ट इन्डिजका लागि ८६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा ६११ खेलमा ९ हजार ९३३ रन बनाउनुका साथै ५३९ विकेट लिएका छन् ।

    आन्द्रे रसेलसँग इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बाश लिग (बीबीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), बङ्गलादेश प्रिमियर लिग (बीपीएल) जस्ता टी–२० लिग खेलेको अनुभव छ ।

    एनपीएल यही कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

  • आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडासँगको खेलमा नेपाल २४ रनले पराजित

    आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडासँगको खेलमा नेपाल २४ रनले पराजित

    पवन औजी /कञ्चनपुर –आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडासँगको खेलमा नेपाल २४ रनले पराजित भएको छ ।

    ओमानको अल अमिरात क्रिकेट मैदानमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो । नेपालले ५० ओभरको खेलमा चार ओभर बाँकी छँदै सबै विकेट गुमाएको हो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभाले ११७ बलमा १०५ रनको शतकीय पारी खेलेका थिए ।

    आरोन जोन्सनले ३६, हर्ष ठाकरले ३४ र हम्जा तारिकले ३० रन बनाए । नेपालका लागि ललित राजवंशीले चार विकेट लिए । सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र रोहित पौडेलले एक विकेट लिए ।

    २५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि आसिफ शेखले २०, इशान पाण्डेले २१, रोहित पौडेलले १८ र बसिर अहमदले ६ रन बनाए । हारसँगै विश्वकप क्रिकेट लिग–२ को अंकतालिकामा नेपाललाई धक्का लागेको छ ।

  • गड्डाचौकी नाकामा लागुऔषध र विस्फोटक पदार्थ पहिचान गर्ने २ कुकुर परिचालन

    गड्डाचौकी नाकामा लागुऔषध र विस्फोटक पदार्थ पहिचान गर्ने २ कुकुर परिचालन

    पवन औजी

    कञ्चनपुर – कञ्चनपुरको भारतसँग सीमा जोडिएको पश्चिमी नाका गड्डाचौकीमा सशस्त्र प्रहरी बलले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त दुई कुकुर परिचालन गरेको छ।

    दसैँलाई लक्ष्य गरी सशस्त्र प्रहरीले अल्फा र डेल्टा नामका दुई कुकुर नाकामा खटाएको हो। दुवै कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल गुल्ममा राखेर नियमित रूपमा सीमा क्षेत्रमा निगरानी तथा सुरक्षा जाँचमा परिचालन गरिने सशस्त्र प्रहरीले जनाएको छ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर (शैलेश्वरी) का सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार अल्फाले लागुऔषध पत्ता लगाउनेछ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछ।

    दुवै कुकुरलाई आवश्यकताअनुसार सीमा क्षेत्रमा खटाइने सिग्देलले बताए। कञ्चनपुरमा लागुऔषधको समस्या जटिल बन्दै गएका बेला तालिमप्राप्त कुकुर परिचालनले यसको नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको आवश्यकता रहेको बताए। मानिसले सहजै पहिचान गर्न नसक्ने शंकास्पद वस्तु तथा पदार्थ कुकुरले पत्ता लगाउन सक्ने भएकाले यसको परिचालन प्रभावकारी हुने उनको भनाइ छ।

  • कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

    कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

    पवन औजी

    कञ्चनपुर – कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरिएको छ। शनिबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका ४, चम्मचोकस्थित न्यु तहल्का होटल एण्ड लजबाट कञ्चनपुरको बेदकोट नगरपालिका(७ का ३४ वर्षीय मनोजराज भट्ट पक्राउ गरिएको हो ।

    होटलमा खैरो हेरोइन सेवन गरिरहेको अवस्थामा फेला परेका भट्टको साथबाट ३ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

    लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • आरक्षपीडित परिवारको पुनर्स्थापना गर्न माग

    आरक्षपीडित परिवारको पुनर्स्थापना गर्न माग

    । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवारको पुनर्स्थापनाको मागसहित आरक्ष पीडित सङ्घर्ष समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी मदन कोइलामार्फत समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्रसहित पठाएको हो । विसं २०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित आरक्षपीडित परिवार न्यायसहित उचित व्यवस्थापन र पुनर्स्थापनाको आशा गर्दै आएका छन् । समस्या समाधानका लागि पटक पटक आयोग तथा समिति गठन गरेर सरकारले आशा देखाए पनि आफूहरूको समस्या भने हालसम्म समाधान नभएको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले बताउनुभयो ।

    वर्तमान सरकारले पनि समस्या समाधान गर्ने आशा देखाए पनि उचित व्यवस्थापन नगरिदिँदा पीडित परिवार भने महेन्द्रनगरस्थित जडीबुटीको सार्वजनिक जमिनमा अस्थायी टहरा बनाएर कष्टकर जीवन बिताउन बाध्य छन् ।

    आरक्षपीडित परिवारलाई कम्तीमा १० कट्ठा जमिन उपलब्ध गराइनुपर्ने, शुक्लाफाँटा आरक्ष हाल (राष्ट्रिय निकुञ्ज) बाट घरगोठका लागि पाँच सय क्युफिट काठ उपलब्ध गराइनुपर्ने, २६ वर्षसम्मको क्षतिपूर्ति २० लाख रुपियाँ उपलब्ध गराइनुपर्ने तथा आधारभूत कुराको निःशुल्क ग्यारेन्टी गरिनुपर्ने माग प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

    यसका साथै सङ्घर्ष समितिले निकुञ्ज विस्तारका क्रममा विस्थापित पारिएका वास्तविक परिवारको पहिचान गरी कानुनी रूपमा कार्यान्वयन योग्य विषयमा जिम्मेवार निकाय र कार्यान्वयन समयसीमा निर्धारण गरिनुपर्ने, आरक्षपीडितको समस्या समाधान गर्दा संवैधानिक व्यवस्था र प्रचलित कानुनलाई ध्यानमा राखिनुपर्ने, अन्तिम पुनर्स्थापना प्रक्रिया पूरा नहुँदासम्म आवास, शिक्षा, स्वास्थ्य, सिप विकास तथा रोजगारीमूलक सहयोग उपलब्ध गराइनुपर्ने माग राखेका छन् ।

  • आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग

    पवन औजी ।
    कंचनपुर – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दैछ ।

    आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले सनिवार क्यानडासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ ।

    ओमानमा यसअघि आफ्ना दुई खेलमा लगातार जित निकालेको नेपालको ३४ खेलमा २८ अंक छ । अब शीर्ष–६ भित्र पर्न नेपालले बाँकी २ मध्य कम्तिमा एउटा जित्नुपर्नेछ । नेपालले अन्तिम खेल अघि नै शीर्ष–६ मा पर्न आज क्यानडालाई हराउनुपर्ने हुन्छ ।

    आज पराजित भएमा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने दबाब हुनेछ । शीर्ष–६ मा रहे एकदिवसीय मान्यता जोगिनेछ । लिग–२ अन्तर्गत अस्ति बिहीबारको खेलमा ओमानलाई ५८ रनले पराजित गर्दै क्यानडाले पनि शीर्ष–६ को सम्भावनालाई जीवितै राखेको छ । उसको ३५ खेलमा २७ अंक छ ।

    अहिले अंकतालिकामा नेपाल छैठौं, क्यानडा सातौं र युएई अन्तिम आठौँ स्थानमा छ । क्यानडाको आज अन्तिम खेल हो भने नेपालले लिग–२ श्रृङखलाको अन्तिम खेल पर्सि सोमबार ओमानसँग खेल्नेछ ।

  • पाकिस्तानका बलर उसामा मिर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने

    पाकिस्तानका बलर उसामा मिर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् ।

    एनपीएलको टोली चितवन राइनोजले तेस्रो संस्करणका लागि मिरलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

    ३० वर्षीय मिरले पाकिस्तानका लागि ५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा १९२ खेलमा २३१ विकेट लिएका छन् ।

    उसामा मिरसँग बिग बाश लिग (बीबीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बङ्गलादेश प्रिमियर लिग (बीपीएल) जस्ता टी–२० लिग खेलेको अनुभव छ ।

    एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाडीहरू अनुबन्ध गरिरहेका छन् ।

  • नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्राे संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याउने तयारी

    काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्राे संस्करणमा डीआरएस प्रविधि प्रयोगमा ल्याउने तयारी भएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको प्रतियोगितामा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) भित्र्याउनेबारे अहिले छलफल केन्द्रित छ ।

    क्यानका सचिव पारस खड्काकाअनुसार यो अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न झन्डै डेढदेखि २ करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान छ । यस विषयमा छिट्टै औपचारिक घोषणा गरिने सचिव खड्काले बताउनुभएको छ ।

    डीआरएस प्रविधि जडानका लागि लाग्ने खर्चकाे व्यवस्थापन क्यान र सहभागी आठ वटै फ्रेन्चाइजी टोलीले संयुक्त रूपमा वहन गर्ने योजना छ । कमर्सियल मिडिया राइट्सबाट आउने ५० प्रतिशत आम्दानी बाँडफाँटको हिस्साबाट यो खर्च समायोजन गरिनेछ । यसले गर्दा कुनै एकल पक्षमाथि आर्थिक भार नपर्ने सचिव खड्काको भनाइ छ ।

    अहिले छलफल मात्रै भइरहेको र यसबारे आधिकारिक निर्णय प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिने उहाँकाे भनाइ छ ।

  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ७१औँ प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनायो

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ७१औँ प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनायो

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ७१औँ प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।कार्यक्रममा पूर्वराष्ट्रसेवक प्रहरी कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा कर्मचारी, अमर प्रहरीका परिवारजन र अशक्त प्रहरीका परिवारजनको सहभागिता रहेको थियो।

    प्रहरी दिवसका अवसरमा राष्ट्र र नागरिकको सेवामा समर्पित भई कर्तव्यपालनका क्रममा अमरत्व प्राप्त गर्ने प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गरिएको थियो। साथै, प्रहरी संगठनमा आबद्ध भई देश र जनताको सुरक्षामा योगदान पुर्‍याउने सम्पूर्ण प्रहरी कर्मचारीको सेवाभाव, त्याग र समर्पणको सम्मान गरिएको थियो।

    कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर बनाउँदै शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको सन्देश प्रवाह गरिएको छ । साथै प्रहरीका तर्फबाट सुन्दर प्रस्तुति समेत राखिएको थियो ।

गृहपृष्ठ
ताजा समाचार
ट्रेण्डिङ्ग
Search